काठमाडौं। पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा स्वास्थ्यचौकी निर्माण सम्पन्न भएको छ। प्रवासी नेपाली र कुश्मा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा स्वास्थ्यचौकीको भवन निर्माण गरिएको हो।
गैह्र आवासीय नेपाली संघ स्विडेनको १६ लाख, कुश्मा नगरपालिका २ खुर्कोटको ६ लाख र एनआरएनए आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठको २५ हजार आर्थिक सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो।
गैह्र आवासीय नेपाली संघ राष्ट्रिय परिषद् स्विडेनका अध्यक्ष राजकुमार पाठक र गैह्र आवासीय नेपाली संघका आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका छन्।
स्वास्थ्यचौकीका अनुसार एनआरएनए आईसीसी सदस्य अर्जुनकुमार श्रेष्ठको विशेष पहलमा उक्त भवन निर्माणका लागि प्रवासी लगानी भित्रिएको हो।
उक्त भवन ६ महीनामै सम्पन्न भएको हो। ४ कोठाको चौकीको भवन निर्माण पश्चात स्वास्थ्य सुविधा समेत विस्तार गर्ने समितिले जानकारी दियो।