काठमाडौं। इलामस्थित ७.८ मेगावाटको सुपर माई जलविद्युत् केन्द्रको उत्पादन पुनः सुचारु भएको छ । स्थानीयले विभिन्न माग राख्दै सोमबार रातीदेखि रोकेको आयोजनाको उत्पादन पुनः सुचारु भएको हो।
इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माई खोलामा सञ्चालित उक्त जलविद्युत केन्द्रको उत्पादन बन्द हुँदा एक दिनमै ५ लाख बराबरको क्षति भएको आयोजनाले जनाएको छ।
सुरुमा स्थानीयवासीले माग गरेको ३० घण्टा सडक मर्मतका लागि स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आएपछि आयोजनाले सहयोग गरेको तर तर त्यो माग पूरा भएपछि पनि अन्य ठूला मागहरु लिएर आइ कम्पनीको हाताभित्र प्रवेश गरेर अराजक गतिविधि गर्दै उत्पादन बन्द गर्न लगाएको आयोजनाको भनाइ छ।
सामान्य छलफलपछि मंगलबारबाट बेलुकीपखदेखि नै आयोजनाको उत्पादन सुचारु भइसकेको छ ।
‘बिहीबार जिल्ला प्रशासन कार्यालय, स्थानीयबासी र आयोजना प्रवर्द्धक कम्पनीसँग विस्तृत वार्ता गरी समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्ने बताइएको छ।