काठमाडौं। अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले हकप्रद सेयर लिलामी बिक्री गर्ने भएको छ । कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामी बिक्री गर्ने भएको हो।
दोलखामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले यसअघि बिक्री गरेको हकप्रद सेयरमा माग बमोजिमको सेयर बिक्री नभएपछि अवितरित सेयर लिलामीबाट विक्री गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । सोहीअनुसार सर्वसाधारणतर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामीबाट निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् ।