काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आक्पारा घाटको पुल निर्माणमा भइरहेको ढिलाइमा चासो दिएका छन् । डा.कोइरालाले तेह्रथुमको छथर गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिका जोड्ने आक्पारा घाटको पुल निर्माणमा भइरहेको ढिलासुस्तीबारे चासो लिएका हुन्।
डा.कोइराला तमोर करिडोर हुँदै फिदिम जाने क्रममा छथर गाउँपालिका–४ का कांग्रेस वडा सभापति सिद्धिमान लिम्बू लगायत स्थानीयले आक्पारा घाटको पुल निर्माणमा ढिलाइ भइरहेको गुनासो गरेका थिए ।
उनीहरुको गुनासोपछि पुल निर्माणस्थल पुगेर अवलोकन समेत गरेका कोइरालाले सहरी विकास मन्त्री सीता गुरुङलाई निर्माण स्थलबाटै फोन गरेर पुल निर्माणबारे प्रश्न समेत गरे।
उनले आक्पारा घाटको पुल निर्माणमा किन ढिलाइ भयो ? भनेर मन्त्रीलाई प्रश्न गरेका छन्। डा.कोइरालाले मन्त्री गुरुङलाई काम छिटो सक्न आग्रह समेत गरेका छन् ।