तनहुँ। तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास–११ सेरास्थित बुल्दीखोलामा पुल निर्माण सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा तनहुँमा दुई वटा मोटरेवल पुल निर्माण सम्पन्न भएको हो।
म्याग्दे खोलामा पुल निर्माणको लागत मूल्य अभिवृद्धि कर बाहेक एक करोड ४१ लाख लागेकाे छ। विसं २०७९ भदौ १ मा सम्झौता भई २०८० साउन ३१ गतेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन एन्ड बिल्डर्स पर्वतले पुल निर्माण कार्यको ठेक्का पाएको थियो ।
यो पुलबाट एक हजार पाँच सय घरधुरीका पाँच हजार नौ सय ६६ जना मानिस लाभान्वित हुने बताइएको छ।
बुल्दीखोलामा निर्माण गरिएको पुलबाट दुई हजार छ सय ४० घरधुरीका १० हजार दुई सय ४३ जना लाभान्वित भएका छन्। यो पुल निर्माणमा भ्याटबाहेक तीन करोड १२ लाख लागतमा लागेको छ। विसं २०७९ भदौ १ गते सम्झौता गरी २०८१ वैशाख ४ गते सम्पन्न गर्ने गरी माई–डिएस जेभीले ठेक्का लिएकामा लक्ष्य अगावै सम्पन्न गरेको हो ।
स्वीस सरकार विकास सहयोगअन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा क्रमशः १२ र २० मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको हो।