मकवानपुर। नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले एनसेलका ६ वटा टावरको लाइन काटेको छ। वक्यौता विद्युत महसुल नतिरेका कारण पालुङ प्राधिकरणले एनसेलका ६ वटा टावरको लाइन काटेको हो।
विद्युत् लाइनको बक्यौता लगातार ४ महिनादेखिको महसुल नबुझाएको कारण प्राधिकरणले बढी वक्यौता भएका सिमभन्ज्याङ्ग, कुलेखानी देउराली र सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाइन काटेको हो ।
पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको ७ लाख ४३ हजार बक्यौता बुझाउन बाँकी रहेको कारण बढी बक्यौता भएका ६ वटा टावरको लाइन काटिएको पालुङ वितरण केन्द्रले जनाएको छ।
पटकपटक बक्यौता रकम बुझाउन आग्रह गर्दा पनि नबुझाएपछि लाइन काटिएको सबै टावरको महसुल नबुझाए क्रमशः सबै टावरको लाइन काटिने प्राधिकरणको चेतावनी छ।