काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५ जम्बुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । चिलिमेको सहायक कम्पनी मध्यभोटेकोसी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम हालसम्म ९९.९ प्रतिशत सकिएको हो ।
प्राधिकरणले समयमै बाह्रबीसे सबस्टेसन हब निर्माण गरिदिए आयोजनाले अबको डेढ महिनाभित्रै विद्युत् प्रसारण गर्न सक्ने आयोजनाले जनाएको छ। स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माणमा ढिलाई भए पनि छिट्टै समस्या समाधान भई काम सम्पन्न गरिने बताइएको छ।
आयोजनाबाट उत्पादित बिजुली सिन्धुपाल्चोकको बाह्रविसे सबस्टेशनदेखि रामेछापको न्यु–खिम्ती हुँदै ढल्केबर पुर्याउने र अर्को बाह्रविसेदेखि काठमाडौको लप्सीफेदी सबस्टेशन हुँदै राष्ट्रिय प्रसारणमा जोड्ने गरी काम भइरहेको छ ।
आयोजनाको अनुमानित सुरुवाती लागत १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेकोमा हाल आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख पुगेको छ ।