काठमाडौं। काठमाडौं–तराई फास्ट ट्रयाकमा ४ हजार ३४५ वटा रुख काट्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले फास्ट ट्रयाकमा नेपाली सेनालाई रुख काट्न स्वीकृति दिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा काठमाडौं–तराई मधेश द्रुत मार्ग सडक आयोजनाको सडक खण्ड निर्माणका लागि संलग्न सर्त पालना गर्ने गरी मकवानपुर र बाराको राष्ट्रिय वनको कुल ४०.१९ हेक्टर जग्गा प्रयोग गर्न र त्यो वनमा रहेका ४३ सय ४५ वटा रुख पोल कटान गर्न दिने निर्णय भएको छ।’
सेनाले रुख काट्ने अनुमतिका लागि गत जेठ २२ गते फाइल वन मन्त्रालयमा पठाएको थियो। प्रधानसेनापति प्रभुराम शर्माले एक साताअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रुख काट्ने अनुमति नपाएका कारण फास्ट ट्र्याकको काम सुस्त भएको बताएका थिए। उनले फाइल अड्काइरहने हो भने थपिएको म्यादभित्र पनि आयोजना पूरा नहुने जवाफ दिएका थिए।