काठमाडौं। वीरगंज उद्योग वाणिज्य संघले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादमा लाइन काटिएका सबै उद्योगमा विद्युत उपलब्ध गराउन माग गरेको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र बिजुली उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेको हो।
प्राधिकरणले देखाउने टीओडी मिटरको तथ्यांक अनुसार महसुल तिर्न उद्योगी तयार रहेको अवस्थामा लाइन काटिनु दूर्भाग्यपूर्ण भएको संघले जनाएको छ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘उद्योगीहरूले डेकिकेटेड र ट्रंक लाइनबाट खपत गरेको महसुल तिर्दैनौं कहिल्यै पनि भनेका थिएनन्, अहिले पनि भनेका छैनन् । उपभोग नै नगरेको विद्युतको महसुल जबर्जस्ती तिराउन खोजिनुचाहीं अन्यायपूर्ण हो भन्ने हाम्रो भनाइ हो।’
संघले मन्दीको मारले थलिएका उद्योग तत्काल लाइन नजोडिए सधैंका लागि बन्द हुने र २५ हजार श्रमिकको रोजगारी गुम्न सक्नेतर्फ गम्भीर हुन सरकारसँग आग्रह गरेको छ।