काठमाडौं। रसुवामा निर्माण सकिन लागेको ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको परीक्षण सुरु गरिएको छ । सोमबारदेखि जलविद्युतको ३६३० मिटर लामो सुरुङमा पानी भर्न सुरु गरिएको हो ।
सुरुङमा पानी भर्न २ देखि ३ हप्ता लाग्ने र पुरै सुरुङको परीक्षण पूरा गर्न डेढ महिना लाग्ने अनुमान गरिएको छ।
आयोजनाको निर्माण कार्य ९९ प्रतिशत पूरा भएको छ। अहिले इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ । सिभिल तथा हाइड्रो मेकानिकलतर्फको काम पनि अन्तिम चरणमा पुगेको छ । आयोजनाको निर्माण तथा परीक्षण पूरा गरी फागुनभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन थाल्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।
आयोजनाबाट उत्पादित विद्युत् २ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब–सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइनको काम भने पूरा भइसकेको छ ।