ढोरपाटन। जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार तीव्र गतिमा अगाडी बढाएको छ। नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् प्रसारण लाइन विस्तार तीव्र गतिमा अगाडी बढाएको हो।
ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारी चौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा शुरू गरेको थियो। बोबाङ हुँदै ढोरपाटनसम्म विस्तार हुन सकेको थिएन। अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाँग्ने काम भइरहेको छ। तमानखोलामा पनि गत वर्षदेखि नै पोल गाड्न थालिएको हो। अहिले अन्तिम चरणमा पुगेको छ।
विद्युत् प्राधिकरणले गत वर्षदेखि नै केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम जारी राखेको छ। गाउँ–गाउँमा विद्युत् विस्तार हुन थालेपछि स्थानीय पनि हर्षित भएका छन्। आगामी एक महिना भित्रमा बत्ती बाल्ने गरी काम भइरहेको छ।