काठमाडौं। नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (लङटर्म पिपिए) मा हस्ताक्षर भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा बिहीबार सम्झौता भएको हो ।
नेपाल–भारतबीच भएको २५ वर्षीय उक्त सम्झौता अनुसार १० वर्ष भित्रमा नेपालबाट दैनिक १० हजार मेगावाट विद्युत् नेपालले भारतीय बजारमा बिक्री गर्न पाउने छ । यसका लागि नेपाल र भारतका विद्युत् व्यापार कम्पनीले विद्युत् व्यापारको दर निर्धारण गरेर पिपिए गर्नुपर्ने छ । यसका लागि दुवै देशका सरकारले आवश्यक निर्देशिका, निर्देशन, कार्यविधि, परिपत्र तयार गरी लागु गर्न सक्नेछन् ।
ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत भारतीय विदेश मन्त्री जयशंकरसहितको उपस्थितिमा सम्झौता पत्रमा ऊर्जा सचिव गोपाल सिग्देल र भारतीय ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका छन् ।
गत जेठ १७ देखि २० सम्म भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गत जेठ १८ गते नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक समझदारी गरेको थियो ।