रौतहट। रौतहटको दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सिमाक्षेत्रमा पर्ने बागमती पुल निर्माणको काम सुरु गर्न माग राख्दै स्थानीयले सडक प्रदर्शन गरेका छन्।
पुल निर्माणको माग गर्दै गौर–चन्द्रनिगाहपुर खण्डमा प्रदेश सांसदसहित स्थानीय रोडमै टेन्ट टाँगेर बसेका हुन्।
तराईका जिल्ला सदरमुकामलाई जोड्ने महत्वाकांक्षी परियोजना अन्तर्गत वाग्मती पुलको शिलान्यास भएको १३ वर्ष बितिसक्दा पनि निर्माणको काम नसकिएपछि प्रदेश सांसद नागेन्द्र साहसहितका स्थानीय सडकमै बसेर दबाब दिन थालेका हुन्।
पुलको सुरुमा लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का लिएको थियो ।
२०६७ जेठ ३१ गते लिखित रुपमा हस्ताक्षर गर्दै २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गर्यो । सझौतापछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका थिए । शिलान्यास गरेको १३ वर्ष बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन।