उदयपुर। चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा जोड्ने भाँचिएको पुल निर्माण नगरे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै धर्ना दिने उदयपुरका जनप्रतिनिधिसहितले चेतानवी दिएका छन् ।
स्थानीय जनप्रतिनिधि र प्रमुख राजनीतिक दलका प्रतिनिधिले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन्।
प्रतिनिधि सभा सदस्य डा.नारायण खड्काले भाँचिएको पुल जसरी पनि बन्ने प्रक्रिया र माग पूरा नभएसम्म उदयपुर नफर्किने र मन्त्रालयमै धर्ना दिने बताए ।
चौचण्डीगढी नगरपालिका–५ का वडाअध्यक्ष तुलसी ढकालले गत कात्तिकमा पनि पुल निर्माण गर्ने वचन पाएको तर काम नभएको बताए ।
चौदण्डीगढी नगरपालिकाका पुर्वमेयर खगेन्द्र राईले जनताको माग सुनुवाइ नभइकन आफूहरू गाउँ फर्कन नमिल्ने भन्दै अब पुल निर्माणको छिनोफानो हुनुपर्ने बताए ।
मन्त्री ज्वालाले उक्त ज्ञापनपत्र बुझ्दै सिवाईबेल्हा जोड्ने पुल निर्माणबारे मन्त्रालयमा दिनदिनै छलफल भइरहेको बताए ।