इलाम। इलामको माङसेबुङ गाउँपालिकामा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ। माङसेबुङ गाउँपालिका–१ का चारवटा टोलमा दुई करोड १४ लाखको लागतमा सिँचाइका निम्ति कूलो निर्माण गरिएका हुन्।
गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा कुलो निर्माण गरिएको वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए। कुलो निर्माण भएपछि १३७ किसान प्रत्यक्ष लाभान्वित भएका वडाध्यक्ष योङहाङले बताए।
स्थानीय लम्फेवा खोलाबाट तीन वटा र फेवाखोलाबाट एउटा कुलो खनिएको हो। पाटीगाउँमा ४८ लाख, लम्फेवा खोलाबाट ४५ लाख लम्फेवा खोलाबाटै दोभान क्षेत्रमा ५३ र माङसेबुङ गाउँपालिका–१ र २ को सिमानामा पर्ने फेवा खोलाबाट तोभाङमा ६८ लाखको लागतमा कुलो निर्माण गरिएको हो।
कुलो खन्न लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०/२० प्रतिशत र स्थानीय उपभोक्ताबाट १० प्रतिशत योगदान भएको थियो।