काठमाडौं। ठूलो खोला जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न प्रसारण लाइन निर्माण गरिने भएको छ। संयुक्त ऊर्जा लिमिटेडले ८.४ किलोमिटर लामो २२० केभी प्रसारण लाइन निर्माण गर्ने भएको हो ।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–८ मा अवस्थित ठूलो खोला जलविद्युत् आयोजनाको स्विच्यार्डदेखि सोही जिल्लाको रघुगंगा गाउँपालिका–७ मा निर्माणाधीन राहुघाट मङ्गले जलविद्युत् आयोजनाको स्विच्यार्डसम्मका लागि प्रसारण लाइन निर्माण गर्न विद्युत् विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकृति प्राप्त भएलगत्तै आयोजनाको काम अघि बढाइने छ।
प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा आइपुग्ने गरी लिखित रायरसुझाव पेश गर्न आग्रह गरेको छ ।
यस प्रसारण लाइन आयोजनाबाट २१.३ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिनेछ ।