काठमाडौं। खरिद सम्झौता (पिपिए) का लागि तोकिएको अवधिभित्र आवेदन पेश नगर्ने एवम् रितपूर्वक आवश्यक कागजात समावेश नगर्ने जलविद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौता (पिपिए)को रोलक्रमबाट हटाइएको छ।
नेपाल विद्युत् प्राधिकरणले गत पुष १२ गतेको निर्णय अुनसार ती कम्पनीलाई पिपिएको रोलक्रमबाट हटाएको हो ।
प्राधिकरणले तोकिएको अवधिभित्र आवेदन नदिने र आवेदन दिनेहरूमा पनि आवश्यक कागजातहरू संलग्न नगर्ने २१५.२२९ मेगावाटका आयोजनालाई पिपिएको रोलक्रमबाट हटाएको छ ।
प्राधिकरणको सञ्चालक समितिले २०७९ माघ २६ गते गरेको निर्णयको आधारमा पीपीए खुलाएको थियो । प्राधिकरणले २०८० असोज १६ गते सूचना जारी गरी ६७५० मेगावाट नपुगेसम्म ग्रिड कनेक्सन एग्रिमेन्टको रोलक्रमका आधारमा जलविद्युत् आयोजनाको पिपिएका लागि ३५ दिनभित्र विद्युत् व्यापार विभागमा आवेदन दिन सूचना जारी गरेको थियो ।