म्याग्दी। म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । विविध कारणले लामो समय सुस्त बनेको आयोजना अबको १५ महिनामा सम्पन्न गर्ने गरी निर्माणलाई गति दिएएको हो ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध, सुरुङ र विद्युतगृहको निर्माण कार्यलाई तीव्रता दिइएको प्रबन्ध सञ्चालक गणेश केसीले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।
उनका अनुसार राहुघाट जलविद्युत् आयोजनाको सन् २०२५ को मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजना सहित काम भैरहेको छ । “अबको १५ महिनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्यका साथ निर्माणलाई तिब्रता दिएका छौ,” उनले भने ।
सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई एकैसाथ तीव्रता दिएको आयोजनाको प्रवद्र्धक कम्पनीले जनाएको छ। सरकारी तबरबाट राहुघाट निर्माण शुरु भएपछि म्याग्दीमा निजी क्षेत्रका जलविद्युत् आयोजना भित्रिएका थिए । निजी क्षेत्रका जलविद्युत् आयोजना भित्र्याउने र आकर्षित भएकाले राहुघाट जलविद्युत् आयोजनालाई म्याग्दीको विद्युत् विकासको गेटवे मानिएको हो ।