म्याग्दी। तीन वर्षदेखि रोकिएको गलकोट–हरिचौर–हिल–तारा–रुम म्याग्दी सडक योजना निर्माणको काम सूचारु भएको छ। बाग्लुङको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट, ताराखोला गाउँपालिका हुँदै म्याग्दीको मालिका गाउँपालिका–२ रुम जोड्ने रणनीतिक सडक निर्माणको काम पुन सूचारु भएको हो।
यस सडकको काम वि.स. २०७६ चैत देखि रोकिएको थियो। ४० किलोमिटर लामो रणनीतिक सडकमध्ये गलकोटको हटियादेखि ताराखोलाको घुस्मेलीसम्मको १० किलोमिटर कालोपत्रेको लागि एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीले पूर्वाधार विकास कार्यालय बाग्लुङसँग आर्थिक वर्ष २०७५/७६ मा २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
बैङ्क जमानत जफत गर्ने, ठेक्का तोड्ने र कालोसूचिमा राख्ने चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको बताइएको छ। पाँच किलोमिटर दुरीमा ग्राभेल भइसकेको सडकको बाँकी खण्डमा विस्तार, पर्खाल, नाली निर्माण, सब बेस, बेस बिछ्याउने र कालोपत्र गर्ने तयारी गरेको छ।