काठमाडौं। नेपाल–भारत विद्युत् प्रसारण लाइनको क्षमता अभिवृद्धि गर्न ८ बुँदे सहमति भएको छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठकले दुई देशबीच सीमापार विद्युत् प्रसारण लाइनको क्षमता अभिवृद्धि गरी विद्युत् आदान–प्रदान सहज बनाउन विभिन्न ८ बुँदे सहमति गरेको हो।
ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को गत शुक्रबार चितवनको मेघौलीमा बसेको ११ औँ बैठकबाट यस्तो सहमति गरिएको छ।
बैठकले नेपाल–भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरु, भारतीय लगानीका जलविद्युत आयोजना तथा अन्तरदेशीय विद्युत् आयात–निर्यात लगायतका विषयमा छलफल गरेको थियो ।
बैठकले सहसचिवस्तरको संयुक्त कार्य समूहको बैठकको सिफारिसका विषयमाथि छलफल गर्दै नेपाल भारत र अन्तरदेशीय विद्युत व्यापारमा सहयोग पुर्याउन सहमति गरेको हो ।
गत पुस १९ गते बिहीबार भारतले नेपालबाट १० वर्षमा दैनिक १० हजार मेगावाट बिजुली भारत लैजाने विषयमा दुइ देशबीच मन्त्रीस्तरीय सम्झौता भएको थियो ।