काठमाडौं। राहुघाट आयोजनासँगै म्याग्दीमा ३५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । निर्माण शुरु भएपछि भित्रिएका ३ वटा आयोजना सञ्चालनमा आइसकेका छन् । थप ६ वटा निर्माणको अन्तिम चरणमा छन् ।
विद्युत् विकास विभागका अनुसार ६३ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७०० मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।
कूल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । त्यस्तै ८३.५ मेगावाट क्षमताका तीन आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ आयोजना सर्वेक्षणको क्रममा छन्।