नुवाकोट। पासाङल्हामु राजमार्गको स्तरोन्नति गर्न चरणबद्ध रुपमा ठेक्का लगाइने भएको छ। अर्थमन्त्री डा प्रकाशरण महतले नुवाकोटलाई काठमाडौंसँग जोड्ने पासाङल्हामु राजमार्गको स्तरोन्नति छिट्टै अघि बढ्ने बताएका हुन्।
नुवाकोटको बेलकोटगढी नगरपालिका ११ मा रहेको पञ्चकन्या माविको ४८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले सडकको स्तरोन्नतिका क्रममा जीर्ण भएको सडक एक वर्षभित्र चरणबद्ध रुपमा ठेक्का लगाइसक्ने प्रतिबद्धता जनाएका हुन्।
त्रिशूलीदेखि ककनी हुँदै बालाजु जोड्ने ७२ किलोमिटर सडकको काठमाडौंतर्फ निर्माण सम्पन्न भइसकेकाले नुवाकोटतर्फको सडकलाई दुई चरणमा ठेक्का लगाउन लागिएको उनको भनाइ छ।
विसं २०१८ मा विस्तार भएको नुवाकोट र रसुवा जोड्ने पासाङल्हामु राजमार्ग विसं २०७१ मा एक लेनबाट दुई लेन बनाउनका लागि ठेक्का लगाइएको थियो। उक्त समयमा यसअघि गरिएको कालोपत्र खनेपश्चात् निर्माण व्यवसायीले काम नगरेपछि सरकारले ठेक्का तोडेको थियो।