काठमाडौं। १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणको काम ७० प्रतिशत पूरा भएको छ । उक्त प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको हो।
प्राधिकरणले तीन वर्षअघि देखि निर्माण सुरु गरेको आयोजनाको काम आधाभन्दा बढी सकिएको छ। लाइन निर्माणको काम भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले गरिरहेको छ । २०७६ असार २२ गतेदेखि निर्माण सुरु भएको काम कम्पनीले कतै पनि अवरोध नभए २०८१ भदौसम्ममा सबै काम पूरा हुने आयोजनाले जनाएको छ।
२०७७ साउनमा ठेकेदार नियुक्त गरी निर्माण प्रक्रिया अघि बढाइएको लाइनको काम अन्तिम चरणमा पुगेको छ । ५० किलोमिटर लामो लाइनमा १६१ वटा टावर रहनेछन् । लाइन बाँकेको कोहलपुर सबस्टेसनबाट सुरु भई सुर्खेतको सुब्बाकुना सबस्टेसनमा पुगेर टुङ्गिनेछ । प्रसारण लाइन निर्माणपछि त्यस क्षेत्रका जनताले पाउने विद्युत् सेवाको गुणस्तरमा सुधार हुनेछ । विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण विस्तार गर्न सकिनेछ ।
आयोजना निर्माणका लागि एक अर्ब रुपैयाँ भन्दा बढी लागत अनुमान गरिएको यो आयोजनाको अहिले ठेकेदार कम्पनीले ७० करोड रुपैयाँ लागतमा काम गरिरहेको छ ।