म्याग्दी। गलेश्वरस्थित रघुगंगा नदीमा पक्की पुल निर्माण गरिएको छ । बेनी–जोमसोम सडक अन्तरगत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सीमाना भएर बग्ने रघुगंगा नदीमाथि मोटर चल्ने पुल निर्माण गरिएको हो।
कालिगण्डकी करिडोर सडक आयोजनाले ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिको पुल निर्माण गरेको छ। पुल निर्माण सम्पन्न भइ सवारीसाधन सञ्चालन समेत शुरु गरिएको छ ।
पुलको रङगरोगन र पहुँचमार्गको कामलाई पूर्णता दिन बाँकी रहेको आयोजनाले जनाएको छ। गलेश्वरको पुल बनाउन कालिका–गजुरमुखी जेभीले वि.सं २०७४ असारमा ६ करोड २४ लाख तीन हजार ८ सय २५ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताको म्याद वि.सं २०७६ चैत २६ गते सकिएको थियो ।
सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सञ्चालक सचिन क्षेत्री मजदुर र आपूर्तिकर्तालाई भुक्तानी नगरी वि.सं २०७६ फागुनदेखि सम्पर्कविहीन बनेपछि वि.सं २०७७ मंसिरदेखि जिम्मा लिएका मूल ठेकेदार कम्पनी नै कार्यक्षेत्रमा फर्किएर अधुरो रहेको पुल निर्माण योजनालाई पूर्णता दिएका हुन् ।