कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा निजी जमिनमा सोलार फार्म जडान गरी १५ मेगावाट बिजुली निकालिने भएको छ । पशुपति रिन्यूएबल्स प्रालिले जमिनमा कृषिबाली लगाउने र त्यसमाथि सोलार राखी बिजुली निकाल्ने तयारी गरेको हो।
उक्त धरमनगर सोलार फार्मको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भएको छ ।
प्रतिवेदन अनुसार यो आयोजना निजी जमिनमा अगाडि बढाइएको छ । जसको लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित आयोजनामा सोलार प्यानल मुनिको जमिनमा भुँइकटहर, पालक, खुर्सानी, बेसार, अदुवा, घाँस, जडीबुटीजस्ता बहुबाली रोप्ने उद्देश्य छ ।
यो आयोजना कुल १७ हेक्टर निजी जमिनमा बनाउने योजना बनाइएको छ । प्रस्तावित सोलार प्लान्टको सञ्चालनबाट उत्पादन भएको बिजुली राष्ट्रिय ग्रिड (शिवपुर सबस्टेशन)मा जोड्ने तयारी छ ।