काठमाडौं। रिडी पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनी सदस्यहरूका लागि अर्को वर्ष लाभांश दिने प्रतिबद्धता जनाएको छ। शनिबार सम्पन्न सभामा कम्पनीले अर्को वर्ष राम्रो डिजिटमा लाभांश दिने प्रतिबद्धता जनाएको हो।
कम्पनीका अध्यक्ष संजिव न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९र८० को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०८०र८१ को लागि लेखा परीक्षकको नियुक्त गर्नुको साथै निजको पारिश्रमिक समेत निर्धारण गरिएको छ ।
हालसम्ममा कम्पनीको मातहतमा २१.३१ मेगावाटका ४ वटा आयोजनाहरू संचालनमा छन् । कम्पनीले धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा निर्माण गरिएको ५ मेगावाटको रैराङ जलविद्युत् आयोजनाले २०६१ सालदेखि विद्युत उत्पादन गरिरहेको छ । २.४ मेगावाटको रीडी खोला जलविद्युत आयोजनाले २०६६ सालदेखि विद्युत उत्पादन गरिरहेको छ ।
पाँचथर र ताप्लेजुङ जिल्लाको सीमा भएर बग्ने इवा खोलामा तेस्रो आयोजनाको रूपमा निर्माण गरेको इवा खोला जलविद्युत् आयोजनाले २०७६ साल आश्विन २० गतेबाट व्यवसायिक उत्पादन सुरु गरेको हो । ८.५ मेगावाटको बुटवल ग्रिड जडित सौर्य विद्युत आयोजनाले पनि २०७७ कार्तिक १५ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।
कम्पनीको लगानी रहेको साझापावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले अहिले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।