झापा। झापाको कमल गाउँपालिका वडा नं. १ पाडाजुंगीस्थित आदिवासी रङ्गशाला निर्माणको कामलाई गति दिन प्रयास सुरु भएको छ । तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले विस २०६७ सालमा शिलान्यास गरेको रङ्गशाला निर्माणको लागि प्रयास गर्न सुरु गरिएको हो।
रङ्गशालाको नामको विषयमा बारम्बार रूपमा विवाद हुँदा निर्माणको काम पनि प्रभावित भएको हो। आदिवासी रङ्गशालालाई अन्तर्राष्ट्रिय मदन भण्डारी रङ्गशालाको रूपमा निर्माण गरिने बताइएपछि विवाद बढेको थियो। सुरुका वर्षमा घेराबारा र सम्याउने काम भएपनि त्यसपछि काम अघि बढ्न सकेको छैन। एक दशक अघिदेखि निर्माणको काम अलपत्र परेको स्थानीयहरू बताउँछन् ।
आदिवासी जनजातिको ७४५ समाधि उत्खनन् गरेर सोही स्थानमा आदिवासी रङ्गशाला बनाइने प्रस्ताव गरिएको थियो । अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउन पुग्ने २३ बिघाभन्दा बढी जमिन रङ्गशालालाई छुट्ट्याएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए । आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठान झापाका अध्यक्ष पनि राई नै रहेका छन्। गोरखापत्रबाट