दोलखा। राजधानीबाट नजिकै रहेको हिमाली जिल्ला दोलखाको गौरीशंकर गाउँपालिका –९ मा पहिलो पटक बिजुलीको पहुँच पुगेको छ।
भौगोलिक विकटताको कारणले गर्दा अहिलेसम्म सो वडाको कुनै पनि गाउँमा सडक पुर्याउन नसके पनि बिजुली आउने भएपछि त्यहाँका स्थानीय खुशी भएका छन्। ठेकेदार कम्पनी काली ह्युल्सा जेभीले ३ करोड रुपियाँमा ठेक्का सम्झौता गरी रिकुदेखि सुरमुच्चे, क्याल्चे, डोगाँङ, ढाङठिङ हुँदै वेदिङसम्म प्रसारण लाइन विस्तार गरेको हो। रिकुदेखि वेदिङसम्म २४ किलोमिटर ११ केभीको प्रसारण लाइन विस्तार भएको नेपाल बिद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले जानकारी दिएको छ। प्रसारण लाइन विस्तारका लागि १० मिटरको ३ सय ४० वटा र घर घरमा वितरण लाइनका लागि ८ मिटरको ५० वटा खम्बा गाडिएको जनाइएको छ।
हाल प्रसारण लाइन विस्तारको सबै काम सकेको छ भने, घर घरमा बिद्युत वितरणको लागि आवश्यक खम्बा गाडेर तार टाँग्ने काम सकेको केन्द्रले जनाएको छ। क्याल्चे र वेदिङमा ट्रान्सर्फमर जडान हुनेवित्तिकै विद्युत वितरण हुने नेपाल बिद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुखले जानकारी दिएका छन्। सो वडाको कुनैपनि गाउँमा सडक नजोडिएकाले ट्रान्सफर्मर ढुवानीमा भने धेरै कठिनाइ भएको छ। हाल हेलिकप्टरमार्फत ट्रान्सफर्मर लैजाने तयारी भइरहेको जनाइएको छ।
लगभग एक महिनाभित्र ९ नम्बर वडाको सबै गाउँमा विजुली बल्ने बताइएको छ। सो क्षेत्रमा प्रसिद्धि च्छोरोल्पा ताल, दूध कुण्ड गौरीशंकर हिमाल र रोल्वालिङ हिमशृङ्खला पर्ने भएका कारणले गर्दा उक्त क्षेत्रमा अत्यधिक मात्रामा जाने भएकाले पर्यटक लक्षित होटल, लजहरु पनि खुलेका छन्। उच्च हिमाली क्षेत्रमा पर्ने उक्त स्थानमा दाउराको समस्या हुने भएकाले महंगोमा ग्यास ढुवानी गरेर लैजानुपर्ने स्थानीयको बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले बिजुलीको पहुँच पुर्याइएको हो। यसले गर्दा स्थानीयको जीवनयापनमा सहजता मात्र नभइ पर्यटकहरुको संख्यामा समेत वृद्धि हुने वडा नम्बर –९ का वडा अध्यक्षले जानकारी दिएका छन्।