काठमाडौं। पाँचथरमा निर्माणाधीन १० मेगावाटको काबेली ‘बी’–१ क्यासकेड जलविद्युत आयोजनाले पुसदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ। ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजना सञ्चालनमा आउने चरणमा पुग्न लागेको हो।
मंसिरभित्रै विद्युत उत्पादनको तालिका राखिए पनि अन्तिम चरणको काम सम्पन्न हुन बाँकी रहेकाले पुसमा पुगेको आयोजनाले बताएको छ। १८ महिनामा आयोजना ९५ प्रतिशत सम्पन्न भएको छ, अबको १ महिनामा आयोजनाबाट विद्युत उत्पादन सुरु गर्ने गरी निर्माणलाई गति लिने आयोजनाले जानकारी दियो।
यो भन्दा अगाडी असोजका लागि राखिएको विद्युत उत्पादनको तालिका कोरोना महामारीका कारणले गर्दा निर्माणमा ढिलाइ भएपछि मंसिरमा सारिएको थियो। आयोजनामा कार्यरत कामदार तथा कर्मचारी नै कोरोना संक्रमित हुँदा यसको प्रत्यक्ष प्रभाव आयोजनाको संरचना निर्माणमा पनि परेको हो।
यो आयोजना २५ मेगावाटको काबेली ‘बी’–१ जलविद्युत आयोजनाको क्यासकेड हो। काबेली ‘बी’–१ को विद्युतगृहबाट निस्कने सबै पानीको उपयोग हुने गरी यो आयोजना निर्माण भइरहेको छ। आयोजनाको विद्युतगृहमा जर्मनीको डब्ल्युकेभीले उत्पादन गरेका इलेक्ट्रोमेकानिकल उपकरण जडान हुँदैछन्। आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिनेछ।
आयोजना सम्पन्न हँदासम्म २ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। कम्पनीले यसअघि संखुवासभाको पिलुवा खोलामा ३ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ।