काठमाडौं। ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत् आयोजनामा अनुमानित ६ अर्ब ८८ करोड लागत लाग्ने भएको छ। आयोजनामा करिब ६ अर्ब ८८ करोड ३९ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको हो।
विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रालिबीच बुधबार पीपीएमा हस्ताक्षर भएको हो ।
पीपीएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्द्धक कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् ।
आयोजनाको विद्युत् गृहमा करिब २१ मेगावाट क्षमताका २ वटा विद्युत् उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ ।
आयोजनाको विद्युत्को ग्रिड कनेक्सन एग्रिमेन्ट २०७७ सालमै पूरा भइसकेको छ । आयोजनाको बिजुली संखुवासभाको शीतलपाटी सबस्टेशनसम्म २३२ केभी ४ किलोमिटर प्रसारण लाइन बनाएर जोडिने छ । निर्माण सुरु गरेको ४ वर्षमा आयोजना सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।