काठमाडौं। नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्याङ्कन समितिबीच बिहीबार बंगलादेशको ढाकामा बार्ता भयो ।
विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरुका विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । आगामी वर्षायामबाटै नेपालबाट विद्युत खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ।
प्राधिकरणले यसै हरेक वर्ष १५ जुनदेखि–१५ नोभेम्बरसम्म बर्खामा ६ महिना ४० मेगावाटसम्म विद्युत निर्यातका लागि बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ ।नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्ने गरी सम्झौता हुनेछ ।