काठमाडौं। १६.२६ मेगावाटको लिपिङ खोला जलविद्युत् आयोजनाको काम साढे ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकाे छ। हिम रिभर पावर प्रालिले सिन्धुपाल्चोकको तातोपानीस्थित निर्माण गरिरहेकाे आयोजनाको काम साढे ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेकाे हाे।
हालसम्म आयोजनाको काम ८२ प्रतिशत पूरा भएको छ । निर्माण सुरु भएको २२ महिना मै काम अन्तिम चरणमा पुर्याएको कम्पनीका कार्यकारी अध्यक्ष सुदीपकुमार चौधरीले बताए। उनका अनुसार यही गतिमा आयोजनाको निर्माण भइरहेमा आगामी २०८१ जेठभित्र उत्पादन सुरु हुनेछ ।
विद्युत्गृहको सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको छ । एउटा मेसिनको जग खन्ने काम पूरा भइसकेको छ भने अर्को मेसिनको लागि जग खन्ने काम भइरहेको छ । २५ दिनभित्र इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम सुरु गर्ने तयारी भइरहेको बताइएको छ।
आयोजनाको सबै काम पूरा गरी २०८१ जेठभित्र उत्पादन गर्ने लक्ष्य रहेको छ । विद्युत् खरिद सम्झौताअनुसार आयोजनाबाट २०८१ असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य भएपनि एक महिना अगावै बिजुली उत्पादन थाल्ने योजनासहित काम भइरहेको आयोजनाले जनाएको छ।