काठमाडौं। नेपाल विद्युत प्राधिकरणले मैनहिया-सम्पत्तिया प्रसारणलाइन आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण गरेको छ। १३२ केभी क्षमताको उक्त प्रसारणलाइनमा पर्ने जग्गाधनीलाई प्रति कठ्ठा २० लाख रुपैयाँदेखि ६८ लाख रुपैयाँ मुआब्जा दिने निर्णय गरिएको छ।
तोकिएको मुआब्जा लिनको लागि प्रमाण खुल्ने कागजपत्र सहित १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सम्पर्क गर्न आयोजनाले अनुरोध गरेको छ।बुटवल भैरहवाका औद्योगिक क्षेत्र लक्षित प्रसारणलाइनमा पर्ने जग्गा मंसिर १९ गते निर्धारण भएको हो।
२७ किलोमिटर लामो प्रसारणलाइनमा पर्ने रुपन्देहीका मर्चवारी, कोटहिमाई, सम्मरीमाई, मायनदेवी र सियारी गाउँपालिकाका १५३ जना जग्गाधनीहरुको जग्गा अधिग्रहण हुँदैछ। लगभग ६ करोड रुपैयाँ मुआब्जामा खर्च हुने आयोजना प्रमुख जानकारी दिए।
औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति विश्वसनीय बनाउन आवश्यक पूर्वाधार विस्तार गर्ने प्राधिकरणको योजना अनुसार यो प्रसारणलाइनको निर्माण सुरु गरिएको हो।
यसका लागि मैनहियामा १३२।३३ केभी क्षमताको सवस्टेसन निर्माणको काम पनि सकिएको छ। सवस्टेसनमा ट्रान्सफर्मर जोड्न मात्रै बाँकी छ।