काठमाडौं। बागमती प्रदेश राजधानी हेटौडामा रु ४७ करोड ९३ लाख लागतमा भ्यूटावरसहितको व्यापारिक भवन निर्माण गर्नेबारे हिजो हेटौँडामा सम्झौता भएको छ।
हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा निर्माण हुने उक्त भवनका लागि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई तथा बानियाँ निर्माण कम्पनीका प्रबन्धक ऋषिराज बानियाँबीच सम्झौता भएको हो।
उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको उपस्थितिमा सम्झौता भएको उक्त भवन उपमहानगरपालिकाद्वारा निर्माण गर्न लागिएको हो। १२ तल्ले उक्त भवनको नाम हेटौँडा बहुद्देश्यीय व्यापारिक भवन रहेको छ।
भवन तीन वर्षभित्र निर्माण हुने बताइएको छ। उपमहानगरपालिकाका इन्जिनियर सत्यनारायण शाहका अनुसार एक बिघा छ कट्ठा जमिनमा भवन निर्माण गरिने छ।
सो अवसरमा उपमहानगरपालिका प्रमुख महतले भवन समय अवधिमा पूरा गर्नुपर्ने बताउँदै हेटौँडाको गरिमालाई अगाडि बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे।