दैलेख। दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भे गर्न सुरु गरिएको छ। अन्वेषणस्थलमा आइसकेका उपकरणको प्रयोग गरि सर्भेको काम सुरु गरिएको हो।
सर्भेका लागि अन्य उपकरण चीनबाट ल्याउने क्रम जारी छ ।
केही उपकरण अन्वेषण स्थलमा आइपुगेको छ भने केही रुपैडिया भन्सारमै रहेको खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ। चीनबाट भारतको कोलकत्ता हुँदै उपकरणहरु नेपालगञ्जको रुपैडिया नाकामा आइपुगेको हो ।
ड्रिलिङ भएको पाँच महिनाभित्र अन्वेषणको काम सुरु हुने परियोजनाले जनाएको छ। ड्रिलिङ सर्भे अन्तिम परिणामसहितको सर्भे भएकाले यसबाट दैलेखमा कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने यकिन हुनेछ । साथै कति गहिराइमा पेट्रोलियम पदार्थ छ भन्ने मापन हुने छ ।