दोलखा। ‘हिम आरोहीको गाउँ’ ले चिनिने गौरीशंकर गाउँपालिका–९ छो–रोल्पा हिमतालको फेदीमा रहेको बेदिङमा बिजुली पुगेको छ। समुद्री सतहबाट ३७२१ मिटर उचाइमा रहेको उक्त ठाउँमा ८५ घरधुरी रहेका छन्। यसैगरी पर्यटकीय गाउँको रूपमा प्रसिद्धि कमाए पनि बेदिङमा अझै न्यूनतम आधारभूत आवश्यकताअन्तर्गतका पूर्वाधारनिर्माण भइसकेका छैनन्।
अहिले बेदिङ गाउँ पनि विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनास्थलबाट २४ किलोमिटर लामो प्रसारण लाइन बेदिङ पुर्याएको हो। प्राधिकरणका अनुसार ११ सय केभीको प्रसारण लाइन बनाउन ३ सय ९० वटा खम्बा (पोल) गाडिएका छन्। जसका लागि ३ करोड रुपैयाँ लगानी भएको जनाएको छ। राष्ट्रिय प्रसारण लाइन पुगेर बिजुली बत्तीले गाउँ झिलिमिली हुने भएपछि त्यहाँका स्थानीय खुसी भएका छन्।
गौरीशंकर हिमालको काखमा रहेको बेदिङ गाउँ बस्ती भन्दा एक दिनको पैदल दूरीमा छो–रोल्पा हिमताल रहेको छ। पर्यटकी स्थल भएको कारणले गर्दा बेदिङका हरेक घर, व्यवस्थित होटलसमेत हुन्। विद्युतको पहुँच पुग्नु भन्दा पहिले स्थानीयले सोलारमार्फत मोबाइल चार्ज गर्ने गर्दथे।सो क्षेत्रमा मोबाइल सेवाका लागि नेपाल टेलिकमले टावर सञ्चालनमा रहेको छ ।
लामो समयदेखि सौर्य ऊर्जाको भरमा रहेको उक्त स्थानमा प्राधिकरणले खम्बा ढुवानी गरेर राष्ट्रिय प्रसारण लाइन पुर्याउन सफल भएको दोलखा वितरण केन्द्रका प्रमुखले जानकारी दिएका छन्। गौरीशंकर–९ मा कतै पनि हालसम्म सडकको पहुँच नपुगेको कारणले गर्दा हेलिकोप्टरबाट २ वटा ट्रान्सफरमर ढुवानी गर्ने योजना रहेको केन्द्र प्रमुखले जानकारी दिएका छन्। सो क्षेत्रमा तार र खम्बा सबै सामान मानिसले नै बोकेर एक साता लगाएर पुर्याएको जनाइएको छ। उक्त स्थानमा नाङ्गो तार नभएर इन्सुलेटर तार बाट विद्युत विस्तार गरिएको छ।
ट्रान्सफर्मर जडानलगत्तै स्थानीयलाई विद्युतका मिटर वितरण गरिने जनाइएको छ। यसैगरी विद्युतको खम्बा बलियो नगाडेको स्थानीयको गुनासोलाई मध्यनजर गर्दै केन्द्र प्रमुखले विद्युतका खम्बा दिगो हुने गरी नगाडिएको फेला परेमा पुनर्निर्माण पक्षलाई काम गर्न लगाउने जनाएका छन्। यसैगरी हिमालमुनि बिजुली पुगेको हुनाले समस्या आएमा सधैं जान नसकिने उनले बताएका छन्।