काठमाडौं। झापा जिल्लामा सिँचाइको व्यवस्था क्रमशः हुन थालेपछि किसानलाई खेती गर्न सहज हुँदै गएको छ। वर्षौंदेखि सिँचाइको अभावमा खेती गर्न समस्या भोगिरहेका दक्षिण झापाका किसानहरू सिँचाई सञ्चालनले दुई बादली खेती लगाउन थालेका हुन्। विगत चार वर्षअघिदेखि निर्माण थालिएका विभिन्न सिँचाइ योजनाहरूको निर्माण सम्पन्न हुँदै गएपछि विगतमा बाँझै रहेका खेतहरूमा पनि खेती हुन थालेको जनाइएको छ।
पानीको अभावमा आधा समय बाँझो रहने जमिनमा सिँचाई योजना सञ्चालनमा आएपछि बाह्रै महिना खेती गर्न थालिएको गौरादहका किसानले जानकारी दिएका छन्। हाल सिँचाइ सुविधा भएपछि कृषकहरूले आकासे पानीको भर पर्नुपर्ने बाध्यता हटेको जनाइएको छ। सो क्षेत्रमा सिँचाइ निर्माण हुनु भन्दा पहिला हिउँदमा सक्नेले डिप बोरिङ गाडेर खेती गर्थे भने नसक्नेले हिउँदमा खेती नै गर्दैन थिए। तर सिँचाइ आएपछि त १२ महिना नै खेती हुन थालेको छ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाका अनुसार झापामा ९० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ आवश्यक रहेको छ। यसैगरी आर्थिक वर्ष ०७७/०७८ को तथ्यांकअनुसार ५४ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाले जानकारी दिएको छ।
त्यसैगरी गत वर्ष मात्र एक हजार हेक्टर क्षेत्रफल सिँचित क्षेत्रको रूपमा व्यवस्थित गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन झापाका प्रमुखले जानकारी दिएका छन्। संघीयता कार्यान्वयन यता सुरु भएका मुख्य सातवटा सिँचाइ योजनामध्ये चारवटा योजना करिब सम्पन्नको चरणमा पुगेको उनले बताएका छन्।