लम्की। कैलालीको घोडाघेडी नगरपालिकाले चालु आर्थिक वर्षमा कालोपत्रेको कामलाई प्राथमिकतामा राख्दै एकै पटक चार वटा सडकको कालोपत्रे तीनवटै तहको सरकारको सहयोगमा गर्ने योजना बनाएको छ। आर्थिक वर्ष चालु भएसँगै मुख्य सडक कालोपत्रे गर्ने योजनालाई अघि सारिएको हो।
माघी होमस्टे १ हजार ७८० मिटर, डोकेबजारमा १ हजार ५ सय मिटर, पहलमानपुर डिभिजन कार्यलयबाट तुल्सीपुर सामुदायिक बनसम्म १ हजार ५ सय मिटर र लोहरपुरदेखि बेलारसम्म १ हजार ३८० मिटर सडक कालोपत्रे गर्नको लागि टेन्डर आह्वान पनि गरिसकेको छ। घोडाघेडी नगरपालिका र तराई–मधेश समृद्धि कार्यक्रमको संयुक्त सहयोग अनुदानमा सडक कालोपत्रे गर्ने योजना भएको हो।
गत आर्थिक वर्षमा सुरु भएका विकास निर्माणको काम कुनै सम्पन्न भइसकेको छ भने कुनै अन्तिम चरणमा पुगेको छ। कौवा खोलामा बन्दै गरेको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। उक्त निर्माण कार्य प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा भएको थियो।