सुर्खेत। कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको म्याद पुनः ९ महिना थपिएको छ। आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने म्याद आगामी २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको हो।
भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि प्रसारण लाइन निर्माणको काम सुरु गरेको थियो। निर्माण कम्पनीले ७० करोडमा उक्त ठेक्का पाएको हो। आयोजनाको हालसम्म ७० प्रतिशत काम पूरा भइसकेको निर्माण कम्पनीले जनाएको छ।
एक सय पाँचवटा फाउण्डेसन निर्माण गरिएको छ भने दशवटा फाउण्डेसन बनिरहेका छन् । हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ ।
आयोजना निर्माणका लागि ६ हजार रुख कटानका लागि टाँचा लगाइएको छ। सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा प्रसारण लाइन निर्माण हुने क्षेत्रको विवाद भने अझै समाधान हुन सकेको छैन।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभार हुँदै लाइन विस्तार हुने उल्लेख छ । प्रसारण लाइन निर्माण गर्दा स्थानीयवासीलाई उचित मुआब्जा दिएर विवाद समाधान गर्न पहल भइरहेको आयोजनाको दाबी छ ।