काठमाडौं। मुगु कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् फुकोट सबस्टेसनमा जोडिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार विद्युत् फुकोट सबस्टेसनमा जोड्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो।
मन्त्री शक्तिबहादुर बस्नेत र सचिव सरिता दुवाडीको उपस्थितिमा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाही र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
कूल १ हजार ९ सय २ मेगावाट क्षमताको जलाशय आयोजनाबाट उत्पादित विद्युत ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत कालीकोट जिल्लाको फुकोट हब सबस्टेसनमा जोडिनेछ ।
मुगु कर्णाली जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ । त्यसलगत्तै, वित्तीय व्यवस्थापनलगायत अन्य कामलाई अगाडि बढाउने लक्ष्य राखिएको छ ।
योसँगै विद्युत् उत्पादन कम्पनीले मुगु कर्णाली आयोजनाको विद्युत् कहाँ कसरी जोड्ने भन्ने विषयमा रहेको अन्योलताको अन्त्य भएको जनाएको छ।