कैलाली। कैलारी गाउँपालिकामा एक दशकपछि हुलाकी राजमार्गको ट्रयाक खुलेको छ। कैलारीस्थित वसन्ता जैविक मार्गमा हुलाकी सडकको ट्र्याक खुलेको हो।
सरकारले जैविक मार्गअन्तर्गत सडकखण्डमा पर्ने रूख कटानको आदेश नदिएपछि राजमार्ग निर्माण शुरु भएको एक दशकसम्म ट्र्याक खुल्न सकेको थिएन । वन क्षेत्रको दुई किलोमिटर खण्डमा रूख कटान गरेसँगै अहिले ट्र्याक खोलेर माटो रोलिङ गर्ने काम भइरहेको छ ।
वसन्ताको पूर्व र पश्चिम दुवैतिरको खण्डमा कालोपत्रे भइसकेको छ । भारत सरकारको सहयोगमा सन् २०१० बाट काम सुरु भएर २०१४ मा हुलाकी राजमार्गको धनगढी–वसन्ता र शक्ति–भजनी खण्ड कालोपत्रे गरिएको थियो ।
वसन्ता जैविक मार्गमा हुलाकी सडक १८ किलोमिटर पर्छ । दुई किलोमिटर खण्डमा गत वैशाखमा रूख कटान गरिएको हो । बाँकी १६ किलोमिटर खण्ड एक वर्षअघि निर्माण गरिएको थियो ।
वसन्तामा ट्र्याक खुलेसँगै कैलालीमा हुलाकी राजमार्ग विस्तारको अवरोध हटेको छ । वसन्ताको अवरोधले धनगढीदेखि टीकापुरको शक्तिसम्म हुलाकी राजमार्ग जोडिन सकेको थिएन । ट्र्याक खुल्ने काम पूरा नभएकाले यो खण्डमा सार्वजनिक यातायात सञ्चालन हुन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत धनगढी–भजनी–सत्तीसम्म ६२ किलोमिटर दूरी छ ।
अहिले ट्र्याक खुलेको दुई किलोमिटर खण्ड आगामी चैत मसान्तसम्म कालोपत्रे गरिसक्ने गरी काम अगाडि बढेको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ।
।