काठमाडौं। ४.७९५ मेगावाटको सुपर इवाखोला साना जलविद्युत् आयोजना निर्माण गरिने भएको छ।कञ्चनजङ्घा हाइड्रो इनर्जी प्रालिले ताप्लेजुङ र पाँचथर जिल्लाको सीमा भएर बग्ने इवा खोलामा सुपर इवाखोला जलविद्युत आयोजना निर्माण गर्न लागेको हो।
आयोजनाका बाँध क्षेत्रमा पर्ने सबै संरचना ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका–१ र पाँचथरको याङवरक गाउँपालिका–२ मा निर्माण गरिने आयोजनाले जनाएको छ। त्यसैगरी आयोजनाको इन्टेक, ग्राभेल ट्याप, डिस्यान्डिङ बेसिन, प्रेसर पाइप, विद्युत् गृह र टेलरेस पाँचथरको याङ्बरक–२ मा निर्माण गरिने बताइएको छ।
आयोजना निर्माणका लागि कम्पनीले आवश्यक अनुमति माग्दै विद्युत् विकास विभागमा दरखास्त दिएको छ। प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आईईई) प्रतिवेदन तयार भइसकेको आयोजनाले उल्लेखनीय वातावरण प्रभाव पार्ने भए लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले बुधबार ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।