काठमाडौं। फेदी खोला हाइड्रो पावर कम्पनी प्रा.लि र राष्ट्रिय वाणिज्य बैंकबीच लगानी सम्झौता भएको छ। हाइड्रोले फेदी खोला, थुम्लुङ्गमा निर्माण गर्न लागेको ४.३ मेगावाट क्षमताको जलविद्युत आयोजनामा वाणिज्य बैंकले लगानी गर्न सम्झौता गरेको हो।
बिहीबार राजधानीमा कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच भएको लगानी सम्झौतामा आयोजनाका लागि वाणिज्य बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने उल्लेख गरिएको छ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिका तर्फबाट पूर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड रुपैयाँ बराबर रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यही साउन महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लि.मा अर्थात् सर्वसाधारणमा परिवर्तन गरी ४४ करोड स्वपुँजीको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निष्कासन यही आर्थिक वर्षभित्र जारी गर्ने समेत जनाएको छ।