सुर्खेत। कर्णाली प्रदेशकी नवनियुक्त जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले दुई वर्षभित्र कर्णालीका सबै घरमा बिजुली पुऱ्याउने बताएकी छन्। मन्त्री बुढाले पदभार ग्रहणपछि हाल कर्णालीका ८३.१३ प्रतिशत घरधुरीमा विद्युत् पुगेको जानकारी गराउँदै आगामी दुई वर्षभित्र शतप्रतिशत पुर्याउने प्रतिबद्धता जनाएकी हुन्।
संघीय सरकारले पनि दुई वर्षभित्र देशका सबै प्रदेश तथा जिल्लामा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको बताउँदै उनले उक्त लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार आवश्यक रणनीति र कार्ययोजनासहित अघि बढ्ने बताइन्।
दुई वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतीकरणका लागि कर्णाली विद्युतीकरण कार्ययोजना–२०८१ तयार गरेर लागू गर्ने मन्त्री बुढाको भनाइ छ। सौर्य मिनी ग्रिड आयोजना, लघु तथा साना जलविद्युत आयोजना निर्माण तथा पुनस्यापक र घरायसी सौर्य ऊर्जा प्रविधि जस्ता भौगोलिक बनावट अनुकूलका स्रोतबाट विद्युत् उत्पादन गरी लक्ष्य पूरा गर्ने समेत उनको भनाइ छ।