काठमाडौं । ठेकेदार सम्पर्कबिहीन भएपछि बेनी–दरबाङ सडक आयोजना अलपत्र बनेको छ । गत बैशाखदेखि सरकारले गरेको निषेधाज्ञा पछि रोकिएको निर्माण कार्य ठेकेदार नै सम्पर्कबिहीन बनेपछि अझै शुरु हुन सकेको छैन ।
मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि र सहायक ठेकेदार काम छाडेर सम्पर्कबिहीन बनेपछि आयोजना अलपत्र भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
काम अलपत्र बनेपछि स्थानीयलाई सास्ती भएको अध्यक्ष रोकाको भनाइ छ । लाम्पाटाबाट दरवाङसम्म आठ किलोमिटर खण्डसडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा विसं २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयले जनाएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन प्याकेजमा स्तरोन्नति भइरहेको छ ।