काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिकामा ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत् आयोजना निर्माण गरिने भएको छ। चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले चुमनुब्री गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने मनास्लु संरक्षण क्षेत्रभित्र जलविद्युत आयोजना निर्माण गर्न लागेको हो।
आयोजनाको बाँध क्षेत्र चुमनुब्रीकै ६ नम्बर वडाको गुमलुङ्गमा पर्ने झोलुङ्गे पुलदेखि ३०० मिटर तल्लो तटमा रहने छ। आयोजनाको विद्युत् गृह लोक्पा बस्तीको पारिपट्टि निर्माण गरिने छ। विद्युत्गृहमा १५ मेगावाट दरका ३ वटा विद्युत् उत्पादन युनिट रहनेछन्। आयोजनाबाट वार्षिक २५३.१०२ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ।
आयोजनाबाट उत्पादन हुने बिजुली १० किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत बुढीगण्डकी प्रोक जलविद्युत् आयोजनाको स्वीचिङ स्टेशनमा जोडिने बताइएको छ।