हुम्ला। हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको छ ।
कर्णाली कोरिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको दुल्ली कुनादेखि खार्पुनाथ गाउँपालिकाको लाली बगरसम्मको सडक निर्माण भएसँगै हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो।
यस सडकको निर्माण गर्ने जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ।असजिलो सडक खण्डको काम सेनालाई दिएसँगै काम समयमै सम्पन्न हुने हुम्लावासीको विश्वास छ। सडक निर्माणको दुरी छोटो भए पनि कठिन क्षेत्रमा पर्छ। उक्त क्षेत्रको सडक निर्माणको जिम्मा सेनालाई दिन दुई वर्ष अगाडिदेखि हुम्लावासीले माग गर्दै आएका थिए।
जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलहरुको आवाजलाई सरकारले गरेको निर्णयसँगै हालसम्म देशकै एकमात्र सदरमुकाम सडक सञ्जालसँग नजोडिएको उपमाबाट सिमकोट हट्ने भएको छ ।