काठमाडौं। डोटी जिल्लामा निर्माण गर्न लागिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाको डीपीआर बनाउन बोलपत्र आह्वान गरिएको छ। भारतीय कम्पनी एनएचपीसीले बुधबार एक सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो।
लगानी बोर्डले २०७९ सालको भदौ महिनामा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र एनएचपीसीलाई दिएको थियो।
लगानी बोर्डले भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडसँग गरेको समझदारी अनुसार उक्त कम्पनीले सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन पेस गरेको थियो।
पश्चिम सेती जलविद्युत परियोजना विकासको लागत एक खर्ब ६८ अर्ब अनुमान गरिएको छ।
बोलपत्र पेस गर्ने म्याद आगामी सेप्टेम्बर ११ तारिख अर्थात् भदौ २६ गतेसम्म छ।