काठमाडौं। ठूलो घाटा बेहोर्दै आएको नेपाल आयल निगमले घाटा परिपूर्ति गर्न अझै पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाब छ। केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई राहत मिलेको छ।
एक महिनाअगाडिसम्म पाक्षिक साढे दुई अर्ब नोक्सानी व्यहोर्दै आएको निगमलाई इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट बिहीबार प्राप्त नयाँ खरिद मूल्यअनुसार अब पाक्षिक रूपमा एक अर्ब ५७ करोड घाटा हुनेछ। यो घाटा पूर्तिका लागि निगमले अझै मूल्य बढाउन सक्ने सम्भावना छ।
पछिल्लोपटक आइओसीबाट यही पुस १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमलाई अझै पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४४ पैसा, डिजेलमा प्रतिलिटर दुई रुपैयाँ ९२ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ७५८ रुपैयाँ २५ पैसा घाटा रहेको सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए।
निगमलाई हवाई इन्धन र मट्टितेलमा सामान्य नाफा रहेको छ। हवाई इन्धन (अन्तर्राष्ट्रिय)तर्फ २६ रुपैयाँ ४४ पैसा र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ ७१ पैसा तथा मटितेलमा १६ रुपैयाँ ६२ पैसा नाफा रहेको छ। हवाई इन्धन र मटितेलको नाफाले निगमको नोक्सानी न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन।
निगमले पछिल्लोपटक गत कात्तिक २४ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो। निगमका अनुसार अहिले पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १३६, डिजेलको रु ११९ र एलपी ग्यासको बिक्री मूल्य प्रसिसिलिन्डर रु एक हजार ५७५ रहेको छ ।