काठमाडौं। भृकुटीमण्डपमा आजदेखि ‘नाडा अटो शो २०२४’ सुरु भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सुरु गरेको नाडा अटो शोको आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रलाई सरकारको पूर्ण संरक्षण रहने प्रतिबद्धता जनाए।
अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रले राजस्व र रोजगारीमा पुर्याएको योगदानको प्रशंसा गर्दै भने, ‘सरकारले व्यवसायीलाई सहयोग गर्छ, तर अवैध गतिविधिहरूमा लाग्न हुँदैन। नीतिगत स्थिरता राजनीतिक स्थिरतासँग जोडिन्छ र यो सरकारले स्थिरता कायम गर्नेछ।’
१६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ।
प्रदर्शनीमा २४ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुई–पांग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडीहरू प्रदर्शनीमा राखिएका छन्।
लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण लगायत ३३ कम्पनीहरू अटो शोमा सहभागी छन् । यस्तै ७ वित्तीय संस्थाका स्टलहरू समेत अटो शोमा छन् । नाडाका अनुसार प्रदर्शनीमा १३० वटा स्टल छन् ।